कञ्चनपुरका पालिकामा ४१ करोड बेरुजु

कञ्चनपुरमा अघिल्लो आर्थिक वर्ष ०७६र७७ मा जिल्लाका स्थानीय तहहरूमा ४१ करोड रुपैयाँ भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार जिल्लाका ९ वटै स्थानीय तहमा उक्त बेरुजु देखिएको हो ।

प्रतिवेदनअनुसार जिल्लामा सबै भन्दा बढी दोधारा चाँदनी नगरपालिकामा साढे १३ करोड बेरुजु देखिएको छ । जुन लेखा परीक्षण गरिएको १ अर्व २१ करोडको ११ प्रतिशतभन्दा बढी हो । जिल्लाकै दुर्गम र विकासका हिसाबले समेत पिछडिएको पालिकाका रुपमा चिनिने उक्त क्षेत्रमा यति ठुलो रकम बेरुजु भएको हो ।

‘त्यस वर्ष वितरण गरिएको सामाजिक सुरुक्षा भत्ताको रकम फर्स्यौट हुन बाँकी छ,’ दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशदत्त मिश्राले भने, ‘केही विद्यालयको भवन निर्माणका लागि गएको वजेटको पनि फर्स्यौट हुन बाँकी छ ।’ उनकाअनुसार सामाजिक सुरक्षा भत्ताको १२ करोड बढी र विद्यालय भवन निर्माणमा १ करोड बढी रकमको हरहिसाव फर्स्यौट हुन बाँकी रहेको छ ।

प्रतिशतका हिसाबले दोधारा चाँदनीपछि बेलौरी नगरपालिकामा बढी रकम बेरुजु देखिएको छ । यहाँ लेखा परीक्षण गरिएको रकमको ५ प्रतिशत बढी बेरुजु देखिएको छ । जुन ६ करोड बढी हो । बेलौरी नगरपालिकामा १ अर्व २३ करोड बजेट खर्च रकमको लेखा परीक्षण गरिएको हो ।

‘धेरै रकम नियमित हुने खर्च अन्तरगतको हो, सामान्य प्रक्रिया नमिलेर बेरुजु देखिएको छ,’ बेलौरी नगरपालिकाका सुचना अधिकारी सुशिला लेखकले भने, ‘कागजात पुर्‍याउने वित्तिक्कै फर्स्यौट हुन्छ ।’ कतिपय विषयमा ऐन कानुनमा स्पष्ट नहुने र पालिकामा खर्च हुँदा बेरुजु देखिने भएकाले ठुलो रकम देखिए पनि अधिकांस रकम फर्स्योट नै हुने उनले बताए ।


१० भदौ २०७८, बिहीवार १६:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु