झलनाथको सनाखतले मान्यता पाउँदा रेशमकोले पाएन

नयाँ दल दर्ताको क्रममा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको सनाखतले मान्यता पायो भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रेशम चौधरीको सनाखतले मान्यता पाएन ।

भारतमा उपचार गराइरहेका खनालले नयाँ दिल्लीमा  रहेको नेपाली दूतावासमा पुगेर गरेको सनाखत पराष्ट्र मन्त्रालय हुँदै आयोगमा प्राप्त भएको र सनाखतले मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

तर, लोकतान्त्रिक समाजवादी पार्टीमा रहेको भनेर सनाखत गरेका रेशम चौधरीको सनाखतले भने मान्यता नपाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि दल दर्ताका लागि दोश्रोपटक निवेदन दिँदा नाम र हस्ताक्षर नभएकाले आजको सनाखतले मान्यता नपाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यससँगै, नेकपा एकीकृत समाजवादीमा आधिकारिक सनाखत गर्ने केन्द्रीय सदस्यको संख्या ५५ पुगेको छ । ५४ जना स–शरीर र एकजनाको हस्ताक्षर गरी ५५ जना केन्द्रीय सदस्यको सनाखत भएको आयोगले जनाएको छ । यस्तै सनाखत हुने सांसदको संख्या ३० पुगेको छ ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीमा १६ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य र १४ जना सांसदको हस्ताक्षर सनाखत भएको आयोगले जनाएको छ ।


९ भदौ २०७८, बुधवार १८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु