फुटबल प्रशिक्षक अलमुताइरीले व्यवहार सुधार्नुपर्ने छानबिन समितिको ११ बुँदे निष्कर्ष (विवरण)

एन्फा विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषदले गठन गरेको छानबिन समितिले राष्ट्रिय फुटबल टोलीका कतारी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यावसायिक आचरणगत बानी बेहोरामा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र अलमुताइरीबीचको विवाद समाधानका लागि राखेपले पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा गठन गरेको सात सदस्यीय छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो।

साथै समितिले अलमुताइरीले उक्त विवादास्पद राजीनामासम्बन्धी पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन परिषदबाट निर्देशन दिनुपर्ने पनि निष्कर्ष निकालेको छ।समितिले अखिल नेपाल फुटबल संघ ९एन्फा०ले १५ दिनभित्र आचारसंहिता तयार गरी राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिई लागू गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ।

समितिको प्रतिवेदन बुझ्दै राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले प्रतिवेदन अध्ययन गरी एन्फालाई १ हप्ताभित्र आवश्यक निर्देशन दिने बताए।

प्रतिवेदनले एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङबारे भने मौन बसेको छ। यद्यपि समितिले ८२ पृष्ठ लामो प्रतिवेदनमा भने वरिष्ठ उपाध्यक्षलाई पनि आवश्यक निर्देशन दिनुपर्ने औँल्याएको समितिका एक सदस्यले जानकारी दिए।

छानबिन समितिको ११ बुँदे सुझाव :

अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ दिनभित्र आचारसंहिता तयार गरी राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिई लागू गर्नुपर्ने।
कुवेती नागरिक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो। लाइसेन्सप्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यावसायिक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने। उनले सम्झौतामा उल्लेख भएका शर्तबन्देजमा रही नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्नुपर्ने। उनले गरेको प्रशिक्षण कार्यदक्षता, क्षमता र भूमिकाबारे प्रश्न उठ्ने अवस्था नभएको।
अलमुताइरीले उक्त विवादास्पद राजीनामासम्बन्धी पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन परिषदबाट निर्देशन दिनुपर्ने।
अलमुताइरीले एन्फासँग गरेको सम्झौताबमोजिमका कार्यमात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनै पनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषदबाट सचेत गराउनुपर्ने
कुनै पनि सञ्चारकर्मीले कुनै पनि खेल प्रशिक्षकसँग अन्तर्वाता वा धारणा लिनुपरे एन्फाका सूचना अधिकारी वा व्यवस्थापकसँग पूर्वअनुमति लिएर मात्र सम्पर्क गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने। साथै प्रशिक्षकले पनि व्यवस्थापकमार्फत नै समन्याय गर्नुपर्ने।
टिम व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समस्याहरुलाई तत्काल सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारपूर्ण रुपबाट भूमिका निर्वाह गर्नुपर्ने। साथै अलमुताइरीलाई सुरक्षाको प्रत्याभूति गराउँदै सोको व्यवस्था एन्फाले मिलाउनुपर्ने।
खेल क्षेत्रलाई धूमपान र मद्यपान निषेधित क्षेत्र बनाउँदै सोही बमोजिमका कार्य अगाडि बढाउनुपर्ने।
एन्फाका सबै पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखी कार्य गर्नुपर्ने।
अलमुताइरी र मेरो खेल अनलाइन पत्रिकाका पत्रकार विभा थापासँग भएको भनिएको विवाद समाधानका लागि आजका मितिले सात दिनभित्र एन्फा नेतृत्वले दुवै पक्ष बोलाई समस्या समाधान गर्ने।
१० उक्त विवादका कारण नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई समेत मध्यनजर गर्दै नेपाली फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षले आपसी विवाद एवं मनमुटावलाई आपसी समझदारी कायम गर्दै अगाडि बढ्नुपर्ने।
११ अब उप्रान्त एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए आफैँ समाधान गर्ने र नसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराई अभिभावकीय संस्था राखेपलाई अनुरोध गर्ने।


९ भदौ २०७८, बुधवार १७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु