कैलालीमा बालिका बलात्कार प्रयास आरोपमा युवक पक्राउ
कैलालीमा बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरका छुनुकलाल चौधरी ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरिरहेको आरोपमा पक्राउ परेका हुन्।
यसअघि उक्त घटना साढे तीन लाख रुपैयाँमा मिलाएको आरोप लागेका अस्थायी प्रहरी चौकी बड्याहाका प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटी निलम्बनमा परिसकेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा उक्त प्रकरणबारे छानबिन समिति गठन गरिएको थियो।
छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दानबहादुर रोकाया, प्रहरी हवल्दारद्धय छक्कबहादुर कार्की, चक्रबहादुर खड्का र प्रहरी जवान अर्जुनबहादुर खड्का सदस्य छन्।
उक्त घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाएको भन्दै खबर बाहिरिएको थियो। जुन आरोप वडा नम्बर ८ का वडा सदस्य राजेश चौधरीले स्वीकार गरेका थिए।
९ भदौ २०७८, बुधवार १२:५२ बजे प्रकाशित












