योगेश भट्टराईले भने : माधव नेपालले पार्टी खोल्न हतार गर्नुभयो, एमालेमै फर्किनुपर्छ
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले एमाले एकता बचाउने प्रयास भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि सोमबार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
पार्टीमै रहेर संघर्ष गर्ने कुरामा अहिले पनि नेता नेपाललाई आफूहरुको साथ रहने उनले बताए। ‘माधव नेपाललाई पार्टीभित्रका विमतिमा छलफल गर्न अहिले पनि हाम्रो साथ हुन्छ। नेता नेपाल र हाम्रा मतहरु मिल्छन्’, उनले भने, ‘तर पार्टी विभाजन गरेर अलग पार्टी बनाउने कुरामा हामी तपाईंसँग हुन सक्दैनौँ भनेर पहिले नै भनेका हौँ।’
उनले आजको आवश्यकता माधव नेपालसहितको एमाले एकता नै रहेको पनि कुरा अगाडि राखे। ‘आजका दिनमा माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ’, उनले भने, ‘उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो।’
काठमाडौंको बुद्धनगरमा बसेको माधव पक्षीय केन्द्रीय कमिटी बैठकको म्यान्डेट विभाजन नभइ एकता रहेको पनि भट्टराईले बताए। ‘यसअघिको केन्द्रीय कमिटीको म्यान्डेट विभाजन होइन एकता थियो। उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नु भयो’, उनले भने, ‘अब उहाँले पनि एकतामा फर्किनुपर्छ। कारबाहीहरू स्वत: अमान्य हुन्छन्। कारबाही प्रतिशोध, दण्ड, सजाय स्वत: निष्क्रिय हुन्छन्। अध्यक्ष र हामीबीच यो सहमति भएको छ।’
उनले मंगलबार बस्ने स्थायी कमिटी बैठकबाट नेता नेपालसहितलाई पार्टी एकताका लागि आह्वान गर्ने पनि बताए। ‘कमरेड माधव नेपाललाई समेत भोलि एकतावद्ध हुन अपिल गर्छौँ’, उनले भने, ‘हामीले औपचारिक रुपमा अपिल गरेका छौँ। नयाँ पार्टी गठन प्रक्रियाबाट उहाँ अलग हुनुपर्छ। उहाँहरु त्यसबाट अलग भएमा १४ जना सांसदमाथिका कारबाही फिर्ता हुन्छन्।’
उनले माधव नेपाल र आफूहरूबीचको सम्बन्ध के कस्तो रह्यो भन्नेमा अझै दुई दिनसम्म नसोध्न पनि पत्रकारलाई आग्रह गरे। ‘हामी अन्तिम पहलकदमी लिन्छौँ’, उनले भने, ‘एमाले एकतावद्ध भएर अघि बढ्नेछ।’
७ भदौ २०७८, सोमवार १६:२३ बजे प्रकाशित












