एक वर्ष पहिले भासिएको सडक अझै बनेन, आवागमनमा समस्या

भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको अत्तरिया फल्टुडे सडक खण्डमा गत वर्ष नै विभिन्न ठाउँमा क्षति पुग्यो । तर भत्किएका सडक र परेका खाल्डाखुल्डी अझै मर्मत हुन सकेका छैनन् । पहाडी सात जिल्ला जोड्ने एक मात्रै सडकमा गोदावरी माथिको उकालोमा ५० मिटर बढी सडक भासिएको एक वर्ष बढी भइसेकेको छ ।

सडक मर्मतमा सडक डिभिजनले चासो दिएको छैन । अहिले उक्त क्षेत्रमा जोखिम मोलेर वैकल्पिक बाटोबाट आवत–जावत भइरहेको छ ।‘सडकको ठाउँ–ठाउँमा परेका चिरा र खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम छ,’ बस चालक भीमबहादुर साउदले भने, ‘बर्खामा त गाडी चलाउनै समस्या भयो ।

अहिले केही सडक मर्मत गरेकाले आवत–जावत गर्न सहज भएको छ ।’ सडक भासिदा पनि कुनै निकायले चासो नदिएको अर्का मोटरसाइकल चालक हरिशचन्द्र भट्टले गुनासो गरे । ‘सवारी साधनको चाप त्यसैमा साँघुरो सडक त्यही पनि बिग्रिएपछि निकै समस्या भइरहेको छ,’ उनले भने ।

माल बाहक ट्रकहरू पनि सोही सडक खण्ड भएर चल्ने भएकाले भत्किएको सडक अझै जीर्ण बन्दै गइरहेको उनको भनाई छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले पहिरोका कारण अवरुद्ध सडकलाई तत्काल खुलाएर सञ्चालनमा ल्याए पनि सडक मर्मत भने गरेको छैन । डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले चालु आर्थिक वर्षमा सो सडक मर्मत गर्ने बताए ।

सडक मर्मतका लागि भदौ मसान्तसम्ममा बोलपत्रका लागि टेन्डर आव्हान गरिने उनले बताए । ‘गत आर्थिक वर्षमा उक्त सडकको अध्ययन पनि गराइयो,’ उनले भने, ‘भदौ महिना भित्रै लागत अनुमान, स्वीकृति गराएर टेन्डर आव्हान गर्छौ ।’ सडक एकै ठाउँमा मात्रै भासिएको नभएर ठाउँ–ठाउँमा भासिएको र थुप्रै ठाउँमा खाल्डाखुल्डी परेका छन् ।


७ भदौ २०७८, सोमवार १५:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु