Hotel Flora Long Ad

उद्यमशील रामचन्द्र : बेरोजगारी समस्याले देखे उद्यमको बाटो

औपचारिक शिक्षा धेरै छैन । डिग्रीको प्रमाणपत्र हातमा लिएकाहरु पनि बेरोजगार भएर बसेको देशमा एसएलसीसम्मको शिक्षा पूरा गरेकालाई रोजगारी पाउनु त्यति सहज पनि छैन । विकसित देश भएको भए क्षमता अनुसारको राजगारी पाइन्थ्यो नै । तर, यो नेपाल हो । यहाँ बेरोजगारी समस्याले गाँजेको छ । केही प्राविधिक सीप भएकाबाहेक शैद्धान्तिक रुपमा मात्रै औपचारिक शिक्षा हाँसिल गरेकाहरु बेरोजगारनै छन् ।

एसएलसीसम्म मात्रै पढेका कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का रामचन्द्र गिरीलाई रोजगारी प्राप्त गर्नु सहज थिएन । तर उनले युवा अवस्थाको सुरुवाती दिनमा रोजगारीका लागि मरिहत्ते भने गरेनन् । मध्यम वर्गीय परिवारमा जन्मेका गिरीको आर्थिक अवस्था साह्रै कमजोर पनि होइन् । तर, घर गृहस्थी सम्हालिसकेपछि कुनै न कुनै इलम गरेर खानुपर्ने नै भयो । बेराजगार भएपनि उनलाई स्वरोजगार बन्ने अवसर भने थियो । त्यो अवसर कृषि क्षेत्रमै थियो । किनकि त्यसका लागि आवश्यक जग्गा जमिनको अभाव थिएन उनीसंग ।

उनलाई आर्थिक उपार्जनको बाटो रोज्न अब कि विदेश जानुपर्ने वा नेपालमै स्वरोजगार बन्ने विकल्प रह्यो । उनले भने आफ्नै ठाउँमा केही गर्ने ‘अप्सन’ रोजे । नेपालको बेरोजगारी समस्याले नै उनलाई कृषि क्षेत्रमै लागेर केही गर्नुपर्छ भन्ने बाटो देखायो । घरबाट केही किलोमिटरको दुरीमा रहेको वडा नम्बर ९ स्थित आफ्नै जग्गामा उनले ६ वर्षअघि सुरु गरे फलफूल खेती । कृषि सम्बन्धी कुनै सीप नसिकेका उनले जानी नजानी १३ कट्टा जग्गामा विशेष गरेर लिची र कागती रोपे ।

बारीमा केही अन्य फलफूलका बोटहरु पनि रोपेका छन् । उनको बारीमा अहिले एक सय बोट कागती र ५५ बोट लिची छन् । बारीमा फलफूल रोपेको चार वर्षपछि उनले उत्पादनको फल पनि लिन थालिसकेका छन् । दुई वर्ष अघिदेखि उनले लिची र कागती बेचेर आम्दानी पनि गर्न थालिसकेका छन् ।

उनले बारीमा फलेका लिची र कागती बेच्नुका साथै बोटबाट कलमी प्रविधिबाट नयाँ बोट उत्पादन गरेर विक्री पनि गर्न थालेका छन् । उनले दुई वर्षमा कागतीका चार हजार बोट विक्री गरिसकेका छन् । लिचीका पनि पोहोर साल १५ सय भन्दा बढी बोट विक्री गरिसकेका छन् भने यस वर्ष नयाँ बोट उत्पादनको काम भइरहेको छ । उनले यस वर्ष चार हजार भन्दा बढी लिचीका बोट उत्पादन गरेर विक्री गर्र्ने लक्ष्य राखेका छन् । ‘पोहोर साल पहिलो वर्ष हुनाले कसैलाई थाहा पनि थिएन,’ रामचन्द्रले भने, ‘यस वर्ष बुकिङ सुरु भइसकेको छ, गत वर्ष भन्दा दोब्बर बढी विक्री हुने आशा राखेको छु ।’ उनी बारीबाटै होलसेल र खुद्रा रेटमा लिची र कागतीका बोटहरु विक्री गर्छन् ।

लिचीको उत्पादन एक डेढ महिनासम्म मात्रै हुन्छ भने कागतीका बाह्रै महिनासम्म फल्छ । जसले गर्दा कागतीले बाह्रै महिना बजार पाइरहेको रामचन्द्र बताउँछन् । ‘कागतीको बजार धेरै छ,’ उनी भन्छन्, ‘माग अनुसार पुर्याउन सकिँदैन । यहाँ कागती उत्पादन कम हुँदा बजारमा भारतीय र पहाडबाट आउने कागतीले बजार लिन्छ ।’ उनको बारीमा अहिले बाह्रसय, सिड्लेस जातका कागती र कल्कत्तिया, रोज सेल्ट्रट, शाही सिड्लेस जातका लिची छन् ।

बारी भित्रै प्रशोधन केन्द्र
बारीमा उत्पादित लिची र कागती विक्री गर्न थालेपनि रामचन्द्रले आफू भन्दा पनि विचौलिया बढी फाइदामा गइरहेको देखे । किसानले मिहिनेत गरेर उत्पादन गरेका फलफूल विचौलियाले केहीछिनमै आफू भन्दा बढी फाइदा लिइरहेको देखेपछि उनले एउटा जुक्ति निकाले, बारी भित्रै प्रशोधन केन्द्र सञ्चालन गर्ने । उनले आफ्नै बारीमा उत्पादित कागती, लिची र अन्य केही फलफूलबाट अचार बनाउने कार्य सुरु गर्ने सोच बनाए । त्यसका लागि उनले प्रशोधन उद्योगनै दर्ता गरे र काम सुरु गरे । त्यसका लागि उनले ‘श्री शान्ति बाटिका फलफूल प्रशोधन उद्योग’ दर्र्ता गरे ।

एक वर्षयता उनी यही उद्योगको नाममा विभिन्न किसिमका अचार उत्पादन गरिरहेका छन् । उनले अचारको ब्राण्ड नाम ‘आनन्दी’ राखेका छन् । श्री शान्ति बाटिका फलफूल प्रशोधन उद्योगको उत्पादनमा आनन्दी ब्राण्डको अचार अहिले धनगढीमा उपलब्ध भइरहेको छ । धनगढीको हाटबजारमै आनन्दीको स्टल पनि छ, जहाँ उनको श्री शान्ति बाटिका फलफूल प्रशोधन उद्योगमार्फत उत्पादन भएका अचारहरु पाउन सकिन्छ । आनन्दी बजारको अचार अहिले धनगढीलगायत सुदूरपश्चिमका विभिन्न बजारमा पुग्छ ।

अहिले उनी बारीबाट उत्पादित फलफूलसहित बाहिरबाट अन्य आवश्यक फलफूल मगाएर अचार बनाइरहेका छन् । आफ्नो बारीबाट उत्पादित कागती र लिची चाहिएजति प्रशोधन उद्योगमै प्रयोग गर्छन् भने बाँकी विक्री गर्दै आएका छन् । उनको उद्योगमा अहिले कागतीको अचार, लिची, तामा, अमला, खुर्सानी, डल्ले खुर्सानी, मिक्स अचारलगायतका विभिन्न किसिमका अचार उत्पादन गरिरहेका छन् । अन्य अचारलगायत बनाउन प्रशोधन उद्योगका लागि भने बाँकी फलफूलहरु बाहिरबाट पनि मगाइरहेका छन् । उनको उद्योगमा अहिले अचारसंगै चुक, लेमन स्पाइसलगायतका अन्य चिजहरु पनि उत्पादन भइरहेका छन् ।

कोरोनाले असर
कोरोना भाइरस महामारी सुरु हुनुभन्दा अगाडि उनको प्रशोधन केन्द्रले राम्रो गति समातिसकेको थियो । बारीको हेरचाह, उद्योग बनाउन कर्मचारी पनि राखेका थिए उनले । चार÷पाँच जनालाई उनले रोजगारीसमेत दिएका थिए उनले । तर उद्योग अगाडि बढिरहेका बेला पहिलो लकडाउन भएपछि उद्योगमा असर पर््यो । देश÷विदेश ठप्प भएपछि सबै लथालिंग भयो । ‘पहिलो लकडाउन सुरु भएदेखि अहिलेसम्म ठाडो उठ्न सकिएको छैन ।’ फेरि पनि कोरोना संक्रमण बढ्दै जाँदा फेरि लकडाउन हुने हल्लाले उनलाई थप पिरोलीरहेको छ । ‘कर्मचारीहरुलाई लकडाउन कतिको असर पर्छ थाहा छैन,’ उनी भन्छन्, ‘तर हामीजस्ता बजारकै भरमा परेका उद्यमीहरुलाई लकडाउनले निकै मारमा पारेको छ ।’

कागतीबारी बिस्तार
कागतीको राम्रो बजार देखेका रामचन्द्रले नजिकै अर्को ठाउँमा १० कट्टामा भर्खरै कागती रोपेका छन् । अहिले प्रशोधन उद्योग भएको ठाउँमा विशेष गरेर कागती, लिची छन् भने केही अन्य फलफूल पनि छन् । तर, अहिले उनले आफ्नै १० कट्टा जग्गामा कागती मात्रै रोपेका छन् ।

‘उद्यममा लागिसकेपछि विस्तार गर्नैपर्छ भनेर थप कागती खेतीलाई विस्तार गरेको छु,’ उनले भने, ‘अवस्था सामान्य भयो भने बजारको मागलाई धान्न सकिन्न । अवस्था हेरेर अरु फलफूल पनि विस्तार गरिनछ ।’ कागतीको अधिकांश उत्पादन आफै प्रशोधन गर्ने र बाँकी बजारमा पुर्याउने लक्ष्य उनको छ ।

ठेक्कामा ‘प्लान्टेसन’
कागती र लिची खेती गर्दै प्रशोधन उद्योगसमेत चलाइरहेका रामचन्द्र यत्तिमै समिति रहेनन् । उनले ठेक्कामा अरुको बारी बनाइदिने ‘प्लान्टेसन’को काम पनि गर्न थालेका छन् । उनले यसै वर्ष दुई ठाउँमा ‘प्लान्टेसन’को काम गरेका छन् । ‘कुनै पनि खेती गर्दा कसरी गर्ने भन्ने अलमल हुन्छ,’ उनी भन्छन्, ‘हुन त मैले पनि गर्दै सिकेको हुँ, अरुले बारी बिनाइदिनुपर्यो भनेर भन्छन्, ठेक्कामै बनाइदिन्छु ।’ कसैको बारी ‘प्लान्टेसन’ गर्दा उनले बारी धनीले भने अनुसारका फलफूलका बोट, लेबर लगाएर बारी तयार पारिदिन्छन् । उनले यस वर्ष एक ठाउँमा धनगढीकै जुगेडामा एक विघामा आँप, लिची र कागतीको बारी बनाएर तयार पारेपनि सोही ठाउँमै अर्को १२ कट्टामा कागतीको बारी तयार पारे ।

कृषि क्षेत्रमा केही गरौं भन्ने व्यक्तिहरु उनीसंग सुझाव सल्लाह माग्नुका साथै बारी बनाएर तयार पारिदिन भनेर आउँछन् । यसरी बारीनै तयार पारेर हस्तान्तरण गर्दा उनलाई एकमुष्ठ रकम प्राप्त हुन्छ । ‘बारी तयार पर्दा सबै आफ्नै तर्फबाट खर्च गर्नुपर्छ,’ उनी भन्छन्, ‘एक विघामा त्यहाँ लगाउने बोटका आधारमा बारी तयार पार्दा डेढदेखि अढाई लाखसम्म खर्च आउँछ । यत्तिनै हुन्छ भन्ने हुँदैन ।’

कृषि क्षेत्रमा केही गर्न चाहने व्यक्तिलाई राज्यले पनि हेर्नुपर्ने उनको सुझाव छ । ‘देशमा रोजगार नपाएर धेरै मानिसहरु तड्पिरहेका छन्,’ उनी भन्छन्, ‘त्यस्ता व्यक्तिहरुलाई कृषि क्षेत्रमै स्वरोजगार बनाउन सरकाले प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।’ सरकारले कृषि उत्पादनको बजारीकरणमा सहज गरिदियो भनेमात्रै पनि धेरै व्यक्तिहरु कृषि क्षेत्रमा आकर्षित हुन सक्ने उनको बुझाई छ ।


२५ साउन २०७८, सोमवार १३:१६ बजे प्रकाशित

chure ga.pa.
Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु