टोकियो ओलम्पिक : ब्राजिलले जित्यो पुरुष फुटबलमा लगातार दोस्रो स्वर्ण
माल्कोमको निर्णायक गोलमा स्पेनलाई पराजित गर्दै ब्राजिलले जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा जितेको छ । शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक स्वर्ण पदक जितेको हो ।
ब्राजिललाई जित दिलाउन म्याथुएस कुन्हा र माल्कोमले गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । निसान स्टेडियममा भएको खेलको ३८औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न नसक्दा ब्राजिलले अग्रता लिने अवसर गुमाएको थियो ।
तर पहिलो हाफको इन्जुरी समयमा कुन्हाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । ६१औं मिनेटमा ओयार्जाबलले स्पेनका लागि बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
जहाँ ब्राजिलका माल्कोम नायक बने । उनले १०८औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–१ को जित दिलाए । ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यसअघि ब्राजिलले सन् २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा स्वर्ण जितेको थियो ।
२४ साउन २०७८, आइतवार ०८:३१ बजे प्रकाशित












