नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले १७ र २० भदौमा छिमेकी राष्ट्र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले १३औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता ९साफ०को तयारीका लागि भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको जनाएको छ ।

साफ च्याम्पिनयसिप अक्टोबर महिनामा हुनेछ । १३औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजक राष्ट्रको छिनोफानो भएको छैन । यसअघि बंगलादेशले साफ च्याम्पिनसिप गर्ने भनिएको थियो ।

तर, बंगलादेशले कोरोना भाइरस अनियन्त्रित हुनु तथा आर्थिक अभावका कारण प्रतियोगिता आयोजनाबाट हात झिकेको छ ।  बंगलादेश फुटबल संघले चरम आर्थिक संकट र कोभिड–१९ कै कारण १३औँ साफ च्याम्पियनसिप गर्न नसकिने भनी गत महिना दक्षिण एसिायली फुटबल महासंघलाई दिएको थियो ।

त्यसपछि नेपाल र माल्दिभ्सले साफ आयोजना गर्न भनी प्रस्ताव राखेका छन् । महासंघले गत महिना नै आयोजक राष्ट्र छिनोफानो गर्ने तय भएको थियो । महासंघले पूर्वनिर्धारित कार्यक्रमअनुसारै अक्टोबरमै साफ हुने बताइए पनि आयोजक राष्ट्र घोषणा नहुँदा सहभागी टोली अन्योलमा छन् ।

नेपालले तेस्रोपटक साफ आयोजना गर्ने तयारीका साथ अगाडि बढेको छ । एन्फाले साफकै लागि प्रशिक्षण सुरु गरेको छ ।

यता, एन्फाले आफूहरू तत्कालै साफ च्याम्पियनसिप गर्न केही कठिनाई नहुने जनाएको छ । नेपालले सन् १९९७ र २०१३ मा प्रतियोगिता आयोजना गरेको थियो । साफ च्याम्पिनयसिपमा नेपालको उत्कृष्ट प्रदर्शन नै सेमिफाइनलसम्म पुग्नु हो । तेस्रोपटकको आयोजना अवसर पाउँदा नेपालले उपाधि दाबेदारका रूपमा आफूलाई प्रस्तुत गर्नेछ ।

तर, यसअघि भारतसँगको मैत्रीपूर्ण खेलले धेरै अर्थ राख्छ । अहिलेसम्म नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच १९ पटक भिडन्त भएका छन् । भारतले नेपालमाथि दबदबा नै राखेको छ । नेपाललाई १३ खेलमा हराएको छ ।

नेपालले केवल दुई खेलमा मात्र भारतलाई परास्त गरेको छ । नेपाल र भारतबीच चार खेल बराबरीमा सकिएको छ । नेपाली सिनियर टोलीले भारतलाई अन्तिमपटक हराएको नै सन् २०१३ को साफ च्याम्पिनयसिप नै थियो ।

आठ वर्षअघि काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतमाथि २–१ को सनसनी जित निकालेको थियो । सन् १९९३ मा बंगलादेशमा भएको खेलमा नेपालले भारतलाई हराएको थियो ।

पछिल्लो पाँच खेलमा भारतलाई नेपालले एक खेल मात्र रोकेको छ । नेपालले सन् २०१५ यता भारतसँग चार खेल गुमाएको छ ।

नेपाल र भारतबीच पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९८५ को २० डिसेम्बरमा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भएको थियो । जसमा नेपाल र भारतले गोलरहित बराबरी नतिजा निकाले ।


२३ साउन २०७८, शनिवार ०८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु