५ महिनाअघि फल्यो ड्रागन फ्रुट
????????????????????????????????????
धनगढी — सुदूरपश्चिममै पहिलो पटक कैलालीको अत्तरियामा लगाइएको ड्रागन फ्रुट १३ महिनामै फलेको छ । सामान्य अवस्थाभन्दा यो पाँच महिनाअघि फलेको हो ।
कृषि प्राविधिकहरूका अनुसार यो फल फल्न सामान्यतया १८ महिना लाग्छ । गोदावरी नगरपालिका–२ तेघरीमा कञ्चनपुरका गोकर्णबहादुर ओलीले बिरुवा रोपेको १३ महिनामै फलेको हो ।
अत्तरियानजिक तेघरीमा वार्षिक करिब ५० हजार भाडा तिर्ने गरी डेढ बिघा जग्गा भाडामा लिएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका ओली चाँडै फल लागेकोमा खुसी छन् । सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले माटो र राम्रो हावापानीका कारण चाँडै फलेको बताए ।
ओलीले युट्युब हेरेर सुदूरपश्चिममै ड्रागन फ्रुट खेती गर्ने योजना बनाएका हुन् । करिब ३० लाखको लगानी गरेर व्यवसाय सुरु गरेको उनले बताए । दाङ, रौतहट र सिन्धुलीबाट प्रतिबोटा ३ सयका दरले ४ हजार ड्रागन फ्रुटको बिरुवा अत्तरिया ल्याएको उनको भनाइ छ ।
‘एक जना प्राविधिक र तीन कामदारले उनको फार्ममा रोजगारी पनि पाएका छन् । ‘प्रतिकिलो ६ सय रुपैयाँमा फार्मबाटै बिक्री हुने गरेको छ,’ उनले भने, ‘दैनिक २५ जनासम्मले माग गरिरहन्छन्, अर्को वर्षदेखि हामीसँग पर्याप्त उत्पादन र आम्दानी हुने आकलन छ ।’
२२ साउन २०७८, शुक्रवार १२:२३ बजे प्रकाशित












