भारत हिँडेका यात्रुको बाटोमै मृत्यु, हत्याको आरोप
धनगढी-कामको सिलसिलमा भारत गएका कैलालीका एक जनाको मृत्यु भएको छ । यही साउन १५ गते धनगढीबाट पशुपति टुर एण्ड ट्राभल्समार्फत भारत गएका कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीका पशुपती आचार्यको मृत्यु भएको हो ।
उनी भारत हिँडेको चार दिनपछि १९ गते मृत्युको आफन्तलाई खबर भएको कैलाली प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बसबाट हाम फालेको खबर प्राप्त भएको र त्यसबारे अनुसन्धान भैरहेको बताए ।
मृतकको शव नेपाल ल्याउने कार्य भैरहेको उनले बताए । मृतकका आफन्तले ट्राभल्सवालाले उनको हत्या गरेको आरोप लगाएका छन् । आफन्त र ट्राभल्सका व्यक्तिहरूबीच आज केहीबेर झडप भएको थियो । आफन्तले आचार्यको हत्या भएको भन्दै धनगढी बसपार्कमा प्रदर्शन गरेका छन् ।
२२ साउन २०७८, शुक्रवार ११:४३ बजे प्रकाशित












