‘कैलालीमा पाइने चराहरु’ नामक पुस्तक विमोचन
चरा संरक्षणमा सक्रिय रहेका कैलालीका युवाले ‘कैलालीमा पाइने चराहरु’ नामक पुस्तक प्रकाशन गरेका छन् । पुस्तक सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन इकाईको आर्थिक सहयोग र नेपाल पन्छी संरक्षण संघको सहकार्यमा प्रकाशन गरिएको हो ।
नेपाल पवन्छी संरक्षण संघका हिरुलाल डगौरा र बृहत घोडाघोडी पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीद्धारा लिखित पुस्तक विमोचन गरिएको छ । पुस्तकको विमोचन सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेशस्तस्तीय समिक्षा गोष्ठीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानसिंह धामीले विमोचन गरे ।
पुस्तक विमोचन गर्दै मन्त्री धामीले प्रकृतिको सुन्दर उपहार एवं जैविक विविधताको प्रमुख अंगको रुपमा मानिएको दुर्लभ पन्छीको अध्ययन एवं अवलोकनका लागि पुस्तक सहयोगी हुने बताए ।
मन्त्री धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव यज्ञनाथ दाहालले गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका डिभिजन वन कार्यालयका प्रमुखहरु र संरक्षणको क्षेत्रमा काम गर्ने निकाय एवं तराई भू–परिधी तालका प्रतिनिधि र नेपाल पन्छी संरक्षण संघका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
नेपालमै पाइने ८८६ प्रजातिका चराहरुमध्ये कैलालीमा ४९६ प्रजातिका चराहरु पाइन्छन भने नेपालमा पाइने ४३ प्रजातिका विश्वका दुर्लभ चराहरु मध्ये विश्वका दुर्लभ २१ प्रजातीका चरा पाइन्छ। राजलहासे राजधानेश, डंगरगिद्द, सानोखैरोगिद्द, गोबरेगिद्दलगायतका चराहरु समावेश छन् भने राष्ट्रिय रुपमा संकटापन अवस्थामा भएका ८१ प्रजातीका चराहरु समाबेश गरिएका छन् ।
पुस्तकमा कैलालीमा पाइने चराहरुको अवस्था, चरामा पर्ने खतरा र संरक्षणका चुनौतीहरु समेत समावेश गरिएको छ। साथै चरा संरक्षण, अनुसन्धान र चरा अवलोकन पर्यटनलाई सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
२० साउन २०७८, बुधवार १९:४७ बजे प्रकाशित













