महाकाली तुइन प्रकरणका प्रत्यक्षदर्शीलाई प्रहरीको सुरक्षा
दाचुलाका ब्यास गाउँपालिका वडा नम्बर २ मालघाटमा भएको तुइन घटका प्रत्यक्षदर्शीलाई सोमबारनै जिल्ला सदरमुकाम खलङ्गा बोलाइएको छ । घटनाका प्रत्यक्षदर्शी भनिएका तुइन तार्ने व्यक्ति कल्याणसिंह धामी, विक्रम रंकोली र अनिता धामीलाई सोमबार बेलुका खलङ्गा पुगेका हुन् ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको छानबीन समितिको टोली दार्चुला आउने भएपछि सोधपुछका लागि उनीहरुलाई अनुसन्धानमा सहयोगका लागि सदरमुकाम बोइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर भट्टले जानकारी दिए । प्रत्यक्षदर्शीसंग मंगलबार (आज)नै सोधपुछ गर्ने वा नगर्ने विषय अनुसन्धान टोलीकै जिम्मामा रहेको उनले बताए । ‘यसबारे हामीलाई थाहा हुँदैन’ उनले भने ।
तीनै जना प्रत्यक्षदर्शीहरुलाई प्रहरीले सुरक्षा गरिरहेको छ । प्रत्यक्षदर्शी तीनै जना सोमबार राति करिब पौने आठ बजेसम्म जिल्ला प्रहरी कार्यालय भित्रै रहेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुसंग केही सोधपुछ गरेको बताइएको छ ।
ब्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी र वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीले आफूहरुको रोहबरमा उनीहरुलाई जिप्रकाबाट बाहिर ल्याएका थिए । उनीहरुलाई बाहिर होटलमा बस्ने व्यवस्था गरेपनि सुरक्षाका लागि उनीहरुसंगै प्रहरी पनि खटाइएको छ । उनीहरु अहिले पनि होटलमै बसेका छन् ।
छानविन टोली पुगेपछि अनुसन्धानमा सहयोग गर्न सोधपुछका लागि बोलाइने छ । ‘छानविन टोली ११ बजेसम्म पुग्ने भनिएको थियो,’ व्यास गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरेन्द्रसिंह धामीले भने, ‘अहिलेसम्म पुग्नुभएको छैन । हामी कुरिरहेका छौं । टोली आएपछि प्रत्यक्षदर्शीसंग बसेर टोलीले सोधपुछ गर्नेछ ।’
१९ साउन २०७८, मंगलवार १२:४६ बजे प्रकाशित













