सुदूरपश्चिममा थप १८ जनाले गुमाए ज्यान, अन्य ४ जनाको शंकास्पद मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सुदूरपश्चिममा १८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्यांकअनुसार कैलालीमा ९, कञ्चनपुरका ७, बाजुरा र दार्चुलामा १/१ जना गरी १८ जनाको मृत्यु भएको हो ।

साथै अन्य ४ जनाको शंकास्पद मृत्यु भएको छ । टीकापुर अस्पतालमा मृत्यु भएका ४ जनाको शंकास्पद मृत्यु भएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससंगै कोरोना संक्रमणका कारण सुदूरपश्चिममा हालसम्म ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ ।

यस्तै, आज सुदूरपश्चिममा १ हजार ६७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६८१ नमूनाको पीसीआर परीक्षण गर्दा ८५६ जना र ७८३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ गरी १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो अवधिमा ८४ जना निको भएर घर फर्किएका छन् ।

यससंगै हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २४ हजार १७८ पुगेको छ । जम्मा संक्रमितमध्ये हालसम्म १६ हजार ५३७ जना निकाउ भएका छन् ।


२६ वैशाख २०७८, आइतवार २०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु