सुदूरपश्चिम प्रदेशमा एकैदिन हालसम्मकै धेरै संक्रमितको मृत्यु
सुदूरपश्चिम प्रदेशमा एकैदिन हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो तथ्यांकअनुसार कैलालीमा मात्रै आठ जनाको मृत्यु भएको छ । त्यस्तै दार्चुलाका दुई जना, कञ्चनपुर, बैतडी र बझाङका एक÷एक जना संक्रमितको मृत्यु भएको छ।
कैलालीमा धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीय पुरुष, धनगढी–१२ की ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका–६ का ६१ वर्षीय पुरुष र बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
कञ्चनपुरमा जिल्लाको पुर्नवास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले बताए।
यस्तै दाचुर्लामा जिल्लाको शैल्यशिखर नगरपालिका–९ की ६५ वर्षीया महिलाको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान र जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाका प्रमुख एवम् वरिष्ठ कबिराज (निरीक्षक) लोकेन्द्र जोशीको मृत्यु भएको छ।
केहिदिन पहिले संक्रमण पुस्टि भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार बिहान मृत्यु भएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाले जनाएको छ। उता बैतडीको पाटन नगरपालिकाको–४ का ३९ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको छ।
बझाङमा पनि केदारस्युँ–१ देउरा बस्दै आएका ७० वर्षीय वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार राति १२ बजे गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा मृत्यु भएको हो।
२५ वैशाख २०७८, शनिवार १८:२२ बजे प्रकाशित












