केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाउन खनाल–नेपाल पक्षको माग
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल (खनाल–नेपाल) पक्षले सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेकै अवस्थामा फर्काउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्ने निर्णय गरेको छ ।
शुक्रवार कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको बैठक खनाल नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि केन्द्रीय सदस्य ठाकुर गैरेले सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा फर्काउन निर्णय भएको जानकारी दिए ।
नेपाल पक्षको अनुपस्थितिमा चैत्र ७ गते बसेको एमाले केन्द्रीय समिति बैठकले दशौं महाधिवेशनको मिति तोक्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको थियो । खनाल नेपाल पक्षको आजको बैठकले संसदीय दलको बैठकमा जाने र आफ्नो कुरा प्रष्ट राख्ने निर्णय भएको गैरेले बताए । संसदीय दलको बैठक दिउसो ३ बजे बालुवाटारमा बस्दैछ । शुक्रवारको संसदीय दलको बैठकमा नेपाल र खनाल भने सहभागि नहुने अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए ।
१३ चैत २०७७, शुक्रवार १४:४८ बजे प्रकाशित












