बैतडीमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालन
कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ ।
निःशुल्क रुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीका अनुसार – ‘हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको छ’ । जिल्लाको मेलौली नगरपालिका सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको उनले बताए । प्रत्येक स्थानीय तहमा दुई दिने शिविर सञ्चालन गरेर सेवा दिने उनले जानकारी गराए ।
तीनवटै स्थानीय तहमा गरेर एक हजार ६०० लाई सेवा प्रदान गरिएको जिल्ला अस्पतालले जनाएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए ।
जिल्ला अस्पतालमा पुग्न सहज नभएका पालिकाका नागरिकलाई गाउँघरमै चिकित्सक पुगेर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको डा जोशीले बताए । चालु आर्थिक वर्षमा जिल्लाका पाँचवटा दुर्गम पालिकामा शिविर सञ्चालन गरेर विभिन्न सेवा एकीकृत रुपमा दिने लक्ष्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।
१ फागुन २०७७, शनिवार १३:०६ बजे प्रकाशित












