महाकाली नदीमा पनि ‘याफ्टिङ’ व्यवस्था गरिदै, भयो सम्झौता
महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) को व्यवस्था गरिने भएको छ ।
र्याफ्टिङका लागि शुक्रबार धनगढीमा एक कार्यक्रमको आयोजना गरि भीमदत्त नगरपालिका कञ्चनपुर, परशुराम नगरपालिका डडेल्धुरा, दशरथचन्द नगरपालिका बैतडी, रुडुक, अक्सफाम, निड्स र र्याफ्टिङ एण्ड एडभेन्चर प्रालीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
अन्तकालदेखि बगिरहेको महाकाली नदीका स्रोतहरु र शोभाका आधारित साधनहरुको समुचित सदुपयोग गरि सदियौं देखिको धर्म, संस्कृति,कला, आपसी भाईचारा र जनजीविको प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक र्याफ्टिङ सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
समझदारी पत्रमा महाकाली नदीमा यथाशिध्र र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्य स्थलहरु, सहयोगी समुदायहरु आदिको पहिचान गरि नीजि क्षेत्रसँग समन्वय गरी र्याफ्टिङ सञ्चालन गर्ने, आवद्ध स्थानीय सरकार र नीजि क्षेत्रहरुले आ– आफ्नो क्षेत्रबाट आवश्यक सम्पूर्ण सहयोग पुर्याउने, स्थानीय सरकारले बार्षिक रुपमा पुनरावलोक गरि परिमार्जित गर्दै लैजाने, समझदारी पत्रमा हस्ताक्षर भएको १५ दिनभित्र कार्य सुरु गर्ने र संघ प्रदेश र मित्र राष्ट्रसँग सम्वन्ध गर्ने उल्लेख गरिएका छन्।
र्याफ्टिङका लागि समझदारी पत्रमा भीमदत्त नगरपालिका कञ्चनपुरका कार्यबहाक नगर प्रमुख उत्तमबहादुर विष्ट, निमित प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशी, परशुराम नगरपालिका डडेल्धुराका मेयर भिमबहादुर साउद, प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु, दशरथचन्द नगरपालिका बैतडीका नगर प्रमुख नरेन्द्रसिंह थापा, सामाजिक विकास शाखा प्रमुख विनोद बहादुर चन्द्र, रुडुकका केन्द्रीय महासचिव ज्योत्सना साउद, निड्स कञ्चनपुरका अध्यक्ष अन्जु जोशी भट्ट र कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्राईभेट लिमिटेडका प्रवन्ध निर्देशक देवराज जैशीले हस्ताक्षर गरेका छन्।
समझदारी पत्रमा नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, रिभर बेसिन अक्सफाम नेपालका प्रवन्धक राजन सुवेदी, रुडुकका राष्टिय निर्देशक डाक्टर कृष्णकुमार श्रेष्ठ र रुडुक बैतडीका कार्यकारी निर्देशक गोविन्द राज जोशी रोहवर रहेका छन्।
३० माघ २०७७, शुक्रवार १४:३५ बजे प्रकाशित












