हत्यालाई आत्महत्या भनेर घटना दवाउन खोजेको आरोप
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कि ललिता बोहराको उनकै श्रीमानबाट हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन् ।
वैशाख २९ गते सोही ठाउँको जंगल क्षेत्रमा ललिताको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । ललिताको माइती घर जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ३ मा हो ।
उनका माइती पक्षले घटना भएको पाँच महिनापछि सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनको हत्या नै गरेको दाबी गरेका हुन् । उक्त घटना कोरोना कहरका कारण त्यसबेला मिडियामा नआएको र पक्राउ परेका ललिताका श्रीमानलाईसमेत प्रहरीले छोडेपछि अहिले मिडिया गुहार्नुपरेको मृतकका दाई गणेश साउँदले बताए ।
उक्त घटना आत्महत्या नै भएको भन्दै प्रहरीले ललिताका श्रीमान लालबहादुर बोहरालाई केही समयपछि छोडिदिएको उनले बताए । पोष्टमार्टम रिपोर्ट पनि आत्महत्या नै भनेर आएकाले त्यसमा ठूलो चलखेल भएको हुनसक्ने उनको आरोप छ ।
उक्लिनै कठिन हुने ठूलो रुखमा झुण्डिएको शवमा खुट्टामा चप्पल हुनु र दिशापिसाव पनि नदेखिनुले छोरीको हत्या नै गरिएको ललिताका बुवा टिकासिंह साउनले बताए । छोरी र श्रीमानबीच सम्बन्ध पहिलेदेखि नै राम्रो नभएको र प्रहरीसामू पनि लालबहादुरले श्रीमतीलाई पिटेको स्वीकार गरेको उनले बताए ।
‘छोरीले मलाई फोन गरेर मलाई लैजानु, म आधा बाटोसम्म आउँछु भनेर निस्किुन अगाडि फोन गरेकी थिइन्,’ उनले भने, ‘लिन आधा बाटोसम्म जाँदा आउँदै नआएपछि खोजी सुरु गर्दा रुखमा पछिल्लो दिन जंगलमा झुण्डिएको अवस्थामा फेला परिन् ।’ त्यो बेला लकडाउन भएकाले साइकलमै छोरी जंगलको बाटो हुँदै आएकी उनले बताए ।
उनले छोरीलाई मारेर रुखमा झुण्ड्याएको हुनसक्ने बताए । प्रहरीले घटनाबारे सच्चाईसम्म खोज्ने प्रयास नगरेको पीडित परिवारको आरोप छ ।
प्रहरीले पक्राउ परेका लालबहादुरलाई कहिले छोड्यो भन्नेसमेत कुनै जानकारी नभएको उनीहरुको भनाई छ । अब घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माग गर्दै विभिन्न निकाय धाउने उनीहरुको नभई छ ।
१८ कात्तिक २०७७, मंगलवार ०९:२४ बजे प्रकाशित












