संसदीय दलसँग समन्वय गर्न नसकेको स्वीकार्दै मुख्यमन्त्रीले माफी मागे

धनगढी,जेठ २१ । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध केही दिनदेखि खरो रुपमा प्रस्तुत भइरहेका प्रदेशसभा सदस्यहरु संसदीय दलको बैठकमा पनि कडा रुपमै प्रस्तुत भएका छन् । बैठकमा सरकार परिवर्तन गर्ने विषयसमेत उठेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्र्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य बीरमान चौधरीले सरकारका पछिल्ला गतिविधि सन्तोषजनक नदेखिएको र दलमा सल्लाह नगरी आफुखुशी जाने चाहना राखे सरकार परिवर्तनसमेत हुन सक्ने चेतावनी दिए । प्रदेश सरकार गठन हुने बेला मुख्यमन्त्री हुने चर्चामा रहेका चौधरीले यति बेला सरकार सही बाटोमा नहिँडे विकल्प खोजी हुने बताएका हुन् ।

दलको मंगलबारको बैठकमा बोलेका १२ जना प्रदेश सांसदहरुले सरकारको समीक्षा गर्न ढिलो भइसकेको बताएका छन् । मंगलबार प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, विषयगत समितिका सभापतिहरु नेपालु चौधरी, हर्कबहादुर कुँवर र कुन्ति जोशी र प्रदेश सांसद लिलाधर भट्ट लगायतले बोलेका थिए ।

प्रमुख सचेतक तामाङले अरु बेला जेसुकै भए पनि विपद आइलागेको बेलामा समेत सरकारले जनताले देख्नेगरी काम गर्न नसकेकाले समीक्षा गर्न जरुरी रहेको बताए । सरकारको कामले आफूहरुलाई जनतामा जान गाह्रो परेकाले अब विकल्प खोज्नुपर्ने अवस्था आएको सचेतक रावलले बताए । मंगलबारको बैठकमा बोल्ने सबैले सरकारको विरोध गरेका छन् ।

सांसद लिलाधर भट्टले आफैँले घोषणा गरेका कार्यक्रमसमेत कार्यान्वयन गर्न नसक्ने अवस्था आउँदा पद ओगटेर बस्नुभन्दा छोड्नु उपयुक्त हुने सुझाव दिए । संसदीय दलको बैठक पहिलोपटक पार्टीका नेताहरुको उपस्थितिविना नै बसेको छ । यस अघिका हरेक बैठकमा पार्टीका प्रदेश इञ्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, सहइञ्चार्ज लक्ष्मण जोशी र प्रदेश अध्यक्ष कर्णका थापाको उपस्थितिमा मात्रै हुने गरेको थियो । सरकारको विरोध वा समर्थनमा बोल्ने सांसदहरुले बैठकमा सहभागी नेताहरुको ‘आँखाका इशारा’अनुसार बोल्ने गरेकोमा यसपटक स्वतन्त्र रुपमा बोल्न पाएको एक प्रदेशसभा सदस्यले बताए ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले सदनमै सरकारको विरोध गर्न थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार संसदीय दलको बैठक राखेका हुन् । दलको बैठक सुरु गर्दै मुख्यमन्त्रीले सरकार सञ्चालनमा पार्टीको संसदीय दलसँग समन्वय गर्न नसकेकोमा माफी मागेका छन् । पूर्वबजेट छलफलका क्रममा सदनमै सरकारको चर्को विरोध गर्दै मुख्यमन्त्रीले काम गर्न नसकेकाले राजिनामा दिनुपर्ने भन्दै नेकपाका प्रदेशसभा सदस्यहरु बोल्न थालेपछि मुख्यमन्त्री तथा दलका नेता भट्टले एक वर्षपछि दलको बैठक बोलाएका हुन् ।

बैठकमा सबै प्रदेशसभा सदस्यहरुले बोल्ने पालो नपाएपछि बुधबार बिहान फेरि बस्ने गरी स्थगित भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री भट्ट निकै रक्षात्मक देखिएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले बताए । बैठकमा सहभागी ती प्रदेश सांसदका अनुसार मुख्यमन्त्रीले सुरुमै झण्डै अढाई वर्ष सरकार चलाएको र यस अवधिमा पार्टी र संसदीय दलसँग समन्वय हुन नसकेकोमा क्षमा मागेका थिए ।

आगामी दिनमा दलसितको समन्वयलाई जोड दिइने र दलकै सल्लाहअनुसार सरकार चलाउने उनको प्रतिवद्धता थियो । बैठक सुरु हुनुअघि नै दलका सदस्यहरुको मनोविज्ञान बुझेका मुख्यमन्त्रीले आफ्नो र सरकारको चर्को विरोध हुने देखेपछि रक्षात्मक बन्ने रणनीति अपनाएका हुन् ।


२१ जेठ २०७७, बुधवार ०१:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु