महाकालीमा तरेर नेपाल प्रवेश गर्ने क्रम रोकिएन
दार्चुला,बैशाख १२। लकडाउनका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु नेपाल भित्रिने क्रम रोकिएको छैन् । शुक्रबार बिहान मात्रै दुई जना नेपाली मजदुर भारत बाट महाकाली नदीमा तरेर नेपाल प्रवेश गरेका छन् ।
लकडाउनका कारण नेपाल भारत जोड्ने नाकाहरु सिल भए पछि भारतमा रहेका नेपालीहरु कहिले पौडी खेलेर, ट्युब तरेर नेपाल भित्रिन थालेका छन् । शुक्रबार बिहान सवा ९ बजे तिर महाकाली नगरपालिका ९ उडै क्षेत्रबाट महाकाली नदीबाट जङार तरेर २ जनाले नेपाल प्रवेश गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर बिष्टका अनुसार मार्मा गाउँपालिका–६ निम्ठाका २५ बर्षीय प्रजापति देउरुखी र सोही ठाउँका २२ बर्षीया रेखा बोहरा देउरुखी महाकाली तरेर नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई नियन्त्रणमा लिइ नगरपालिकाको क्वारेन्टाइनमा राखिएको महाकाली नगरपालिका विपद व्यवस्थापन शाखाका संयोजक भुवन जोशीले बताए।
अवैध रुपमा भारत बाट नेपाल प्रवेश गर्ने क्रम बढे पछि सशस्त्र प्रहरीले जिल्लाका ९ ठाउँमा अस्थायी पोष्ट राखेर सीमामा निगरानी बढाएको भए पनि भारतमा अलपत्र परेको नेपालीहरु विभिन्न माद्यम प्रयोग गरी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन ।
१२ वैशाख २०७७, शुक्रवार ०६:५० बजे प्रकाशित