सुनकाे मूल्य ८० हजार नाघ्यो

काठमाण्डौँ :नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८० हजार ३ सय पुगेको छ ।

यसअघि आइतबार नेपाली बजारमा सुनको मूल्य ७८ हजार ८ सय पुगेको थियो । सोमबार एकैदिन तोलामा एक हजार ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो । तेजाबी सुन भने प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी सोमबार चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय विश्व बजारमा हरेक दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । यसअघि चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा अमेरिका–इरानबीच देखिएको द्वन्द्लगायतले उकालो लागेको सुनको मूल्य अहिले कोरोना भाइरसको प्रकोपले प्रभावित भएको बताइएको छ ।

चीनमा देखिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित बनेपछि पछिल्ला दिनमा विश्व बजारमा सुनको मूल्य उकालो लागेको नेपाल राष्ट्र बैंकका कामु गभर्नर कृष्णबहादुर मानन्धर बताउँछन् । 


१२ फागुन २०७६, सोमवार ०८:०० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु