सुदूरपश्चिमको पुरानो दिपायल विमानस्थलको कालोपत्रे सम्पन्न
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो ।
विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम शुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताए ।
उनले भने, “हामीले विमानस्थलको पक्की गर्ने काम सकेका छौँ, धावनमार्गको काम पनि केही दिनमा सक्नेछौँ ।” विमानस्थलमा धावन मार्ग रेखाङ्कनलगायतका काम शुरु भएको उनले जानकारी गराए । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताए ।
२९ माघ २०७६, बुधवार ०६:५९ बजे प्रकाशित