बाजुरा र डोटीमा बँदेलको आक्रमणबाट आठ जना घाइते

बाजुरा र डोटीमा बँदेलको आक्रमणबाट आठ जना घाइते भएका छन् । बाजुराको गौमूल गाउँपालिका–३ माझपालिको धर्मोदय आधारभूत विद्यालयमा सरसरफाई गरिरहेका सात जनालाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।

घाइते हुनेमा ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क, ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले घाइते भएकामध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ ।विश्वकर्मालाई उपचार संभव नभएपछि अन्यत्र रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चुडामणि पन्तले जानकारी दिनुभयो ।

विश्वकर्माको दुवै हातको औ‌ँला चुँडिएको र ढाड भाँचिएको अस्पतालले जनाएको छ । पूर्ण वि.क. र डवल रोकायाको भने हात खुट्टा र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ । घाइते भएका चार जनालाई गौमूल स्वास्थ्य चौकीमा उपचारपछि घर फर्काइएको छ ।

यस्तै डोटीको शलेनामा पनि बँदेलको आक्रमणमा ४७ वर्षीया महिला गम्भीर घाइते हुनुभएको छ । घाइते तुलसी भण्डारीको दिपायल राजपुरको सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ ।

उहाँको शरीरमा गहिरो चोट लागेको अस्पतालका स्वास्थ्य प्रमुख अर्जुन बलायरले जानकारी दिनुभयो । खप्तड राष्ट्रिय निकुञ्जबाट जङ्गली बँदेल बस्तीमा आहारका लागि छिर्ने र गाउँलेमाथि आक्रमण गर्ने क्रम बढेको स्थानीयबासीले बताएका छन् ।


२७ माघ २०७६, सोमवार ०७:४० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु