तुलसी देवकोटाको अडिग यात्रा : वनको बाटो हुँदै संसदको मञ्चमा
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक हलमा जब तुलसी देवकोटा बोल्छिन्, उनको आवाजमा गाउँको माटोको गन्ध, वनको हरियालीको श्वास र महिलाको संघर्षको पीडा मिसिएको हुन्छ । विशेष अधिकार समितिकी सभापति मात्र नभई उनी महिला सशक्तिकरण, वन संरक्षण र सामाजिक न्यायका मुद्दामा अडिग आवाज हुन् ।
वि.सं. २०४८ देखि नेपाली कांग्रेसको सक्रिय सदस्यको रूपमा राजनीति यात्रा सुरु गरेकी देवकोटाले जीवनको धेरै हिस्सा पार्टीको झण्डा बोक्दै बिताइन् । पार्टीको सक्रिय भएको २९ बर्षपछि उनी नेपाली कांग्रेस महिला विभाग अन्तरगत सुदूरपश्चिम प्रदेश संयोजक समेत बनिन । त्यही नेतृत्वले जनप्रतिनीधिसम्म पुर्याएको छ । तर उनको असली पहिचान राजनीतिमात्रै सिमिति छैन । उनी संघर्ष र समर्पणको जीवित रूपक हुन् ।

वनसँगको प्रेम, महिलासँगको प्रतिवद्धता
वि.सं. २०५५ मा प्रशंसा महिला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष बन्नु उनका लागि जीवनको मोड थियो । त्यतिबेला तराई क्षेत्रमा वन अतिक्रमण व्यापक थियो । स्थानीयलाई लामो समयसम्म बुझाउँदै, सच्याउँदै र केही ठाउँमा प्रत्यक्ष सामना गर्दै उनले अतिक्रमणबाट वन जोगाउन ठूलो भूमिका खेलिन । कतिले वन पाले पनि भन्थ्ये । “त्यतिबेला मान्छेलाई सम्झाउनै कठिन थियो,” उनी ती बेलाका कठिन समय स्मरण गर्दै भनिन्, “तर जब महिलाहरू संगठित भए, परिवर्तन सम्भव भयो ।”
उनले प्रशंसा मात्र होइन, ऐश्वर्य, वनदेवी र पञ्चवटी महिला सामुदायिक वन उपभोक्ता समूहहरूमा पनि नेतृत्व गरिन् । यी समूहमार्फत उनल वनको संरक्षण र महिलाको आर्थिक सशक्तिकरण एकसाथ सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरिन । प्रशंसा महिला र ऐश्वर्य महिला सामुदायिक वनलाई उनले जिल्ला वन कार्यालयबाट प्रथम पुरस्कार दिलाउन सफल भइन्, जुन उनले आफ्नो सामूहिक नेतृत्वको प्रमाण मान्छिन् । बन संरक्षणमा महिलाको सहभागितामा कैलाली देशकै नमूनाका रुपमा परिचित पनि छ ।

आर्थिक स्वतन्त्रताको बाटो
वनसँग जोडिएका महिलाहरूलाई उनले ऋणको बोझबाट मुक्त गर्न सन् २००१ (वि.सं. २०५८) मा ‘विश्वज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था’ स्थापना गरिन् । सहकारीमार्फत महिलालाई सस्तो ब्याजमा ऋण, सिपमूलक तालिम र रोजगारीका अवसरहरू उपलब्ध गराउने कार्यक्रम पनि सुरु गरिन । “जब महिलाको हातमा पैसाको पहुँच हुन्छ, तब उनीको आवाज बलियो हुन्छ,” देवकोटाको बुझाई छ । अतिक्रमणकारीलाई विस्थापित गर्न सजिलो थिएन, तर वरिपरिका स्थानीय उपभोक्तालाई विश्वासमा लिएर उनले समूहको वन क्षेत्र पुनःस्थापना गराइन् । यही कदम उनका लागि सामाजिक सेवाको पहिलो ठोस खुट्किलो बन्यो । सहकारीमार्फत उनले झण्डै १५ सय भन्दा बढी विपन्न, दलित, जनजाति महिलालाई स्वयं बचत–ऋण परिचालनमा संगठित गरिन् ।

“जब महिलाको हातमा आर्थिक पहुँच आउँछ, तब मात्र उनी आत्मनिर्भर बन्छिन्,” देवकोटा भन्छिन् । यस संस्थाले महिलाको आयआर्जन, क्षमता विकास, र आत्मविश्वास बढाउने काम गर्दै आएको छ । २०६४ मा कैलाली जिल्ला महासंघको पहिलो महिला जिल्ला अध्यक्षको रूपमा चुनिएकी थिइन् । २०७० सालदेखि भने उनले ‘सुनौलो भविष्य, नेपाल’को अध्यक्षको रूपमा वातावरण संरक्षण, वनको पुनरुत्पादन, र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालनको नेतृत्व गरेकी थिइन । वि.सं. २०७३ असोज ७ मा वातावरण संरक्षण क्षेत्रको सबैभन्दा ठूलो अब्राहम संरक्षण पुरस्कारबाट उनी सम्मानित भइन् । सहकारी र सामुदायिक वन क्षेत्रमा पनि उनले सयौँ पुरस्कार र सम्मान पाएकी छन् । तर, उनका लागि यी सम्मानभन्दा ठूलो कुरा महिलाको आत्मनिर्भरता र वनको हरियाली हो ।
राजनीतिक यात्रा
वि.सं. २०४८ मा नेपाली कांग्रेस साधारण सदस्यबाट सुरु भएको तुलसाको राजनीतिक यात्रामा पनि निकै प्रेरणादायी छ । नेपाल महिला संघको विभिन्न तहमा नेतृत्व गरिन । नेपाली कांग्रेसको जिल्ला, क्षेत्रीय, र प्रदेश संरचनामा संयोजक, सल्लाहकार, प्रशिक्षकको रुपमा पनि काम गरिन । २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार समेत बनेकी थिइन । तर, त्यो यात्रा भने त्यही रोकियो । २०७९ पौष १५ मा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचित हुँदै आफ्नो राजनीतिक आधार बलियो बनाएकी छिन् । वनको अतिक्रमण हटाउन स्थानीय महिलासँग हातेमालो गरेर सुरु भएको यात्रा आज प्रदेशसभाको मञ्चमा नीतिगत निर्णयसम्म पुगेको छ । तुलसी देवकोटा केवल एक नेतृ मात्र होइन उनी महिला सशक्तिकरण र वातावरण संरक्षणको संगम हुन्, जसको नेतृत्व सुदूरपश्चिमको माटोले गर्वका साथ स्मरण गर्छ ।

प्रदेशसभा सदस्यको रूपमा छानिएपछि आफुले बन संरक्षण र महिलालाको शसक्तिकरणमा उठाएका आवाज नीतिगत तहमा व्यवस्थि तगर्ने उनको सपना थियो । सपना र योजना अनुससार काम गर्न त सकिएको छैन, तर यात्रा र दवाव छोडिएको छैन । “म प्रदेशसभामा सदस्यका रुपमा नीति बनाउने ठाउँमा पुगेपछि अब मैले आवाज उठाएरमात्रै पुग्नैन कार्यान्वयनको जिम्मा पनि मेरो काँधमा छ”तुलासाले भनिन, “प्रदेशसभा सदस्य भएको पहिलो क्षमा खुसीयालीसँगै जिम्मेवारी बोध भएको विषय अहिले पनि सम्झिरहन्छु ।” विशेष अधिकार समितिकी सभापति भएकाले उनले प्रदेशसभा सदस्यहरूको अधिकार, सभाको मर्यादा र कार्यक्षमता सुनिश्चित गर्न अग्रसरता लिइरहेकी छन् ।
सभा बैठकहरूमा उनी प्रायः महिला अधिकार, वन संरक्षण, दलित र जनजातिको उत्थान, तथा पिछडिएका वर्गको पहुँचको विषयमा बोल्छिन् । संघीय संरचनामा प्रदेशको अधिकार सुनिश्चित गर्नुपर्ने मुद्दामा पनि उनी स्पष्ट र दृढ रहन्छिन् । समितिको तर्फबाट महिनावारी विभेद अन्त्य गर्न अनुगमन, छलफलको पनि अगुवाई लिइरहेकी छिन् ।
संघर्षले सिकाएको धैर्य
समाज सुधारको यात्रामा उनले थुप्रै अवरोधको सामना गरिन । कहिले मानसिक दबाब, कहिले आर्थिक कठिनाइ, कहिले सामाजिक प्रतिरोध हरेक दिन झेल्नु पथ्र्यो । तर यी सबै अनुभवले तुलसालाई झनै दृढ बनायो । “वनले मलाई संघर्ष गर्न सिकायो,” उनी भन्छिन्, “त्यही संघर्षको अभ्यासले मलाई अहिलेको जिम्मेवारीमा दृढ बनाएको छ । बनसँग जोडिएका संघर्ष, चुनौतीबाट सिक्दै म प्रदेशसभाका काम गरिरहेकी छु ।”
आज पनि प्रदेशसभाको गलियारामा वा गाउँको टोलमा, तुलसी देवकोटा एउटै उद्देश्य बोकेकी हुन्छिन् “महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सशक्त बनाउे, वनको स्रोतलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने ।” पिछडिएका वर्गको आवाजलाई राजनीतिक एजेन्डामा ल्याउने उनको निरन्तरको प्रयास त छदैनैछ । प्रदेशसभा सदस्य तुलसीको यात्राले देखाउँछ “दृढता, संगठन र दृष्टिकोण भए परिवर्तन असम्भव छैन ।” प्रदेशसभामा विशेष अधिकार समितिकी सभापति बनेपछि उनको सक्रियता अझै बढेको छ ।
उनी महिला अधिकार, वन संरक्षण, दलित र जनजातिको उत्थान, तथा प्रदेशको अधिकार सुनिश्चितताका मुद्दामा स्पष्ट र दृढ आवाजका रूपमा स्थापित भएकी छिन् । “पहिले योजना मात्र बनाउँथ्यौं, अब कार्यान्वयन गर्ने अवसर छ,” उनी भन्छिन्, “र त्यो अवसरलाई म सशक्तिकरण, संरक्षण, र न्यायका लागि प्रयोग गर्दैछु । ”

१५ भदौ २०८२, आइतवार ०९:०२ बजे प्रकाशित













