पूरा भएनन् वाचाहरू

काठमाडौँ : सिंहदरबारभित्रका मन्त्रालय र मुख्य विभागमा केही दिनयता कर्मचारीलाई सरकारको कामको फेहरिस्त उतार्ने चटारो छ । उपलब्धिको सूची बुझाउन उनीहरूलाई प्रधानमन्त्री कार्यालयले ताकेता गरेको हो । आउँदो शनिबार फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पुग्दैछ ।

त्यही दिन उपलब्धिहरू सार्वजनिक गर्ने तयारी छ । वाम गठबन्धनको चुनावी घोषणापत्रलाई दाँजेर हेर्दा भने यी दुई वर्षमा भएका काम उत्साहजनक देखिँदैनन् ।

चुनावमा मत माग्दा तत्कालीन एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले महत्त्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्रमै आफ्नो नेतृत्वमा बहुमतको सरकार बने दुई, पाँच र १० वर्षभित्र के–के गर्ने भनेर काम उल्लेख गरिएको थियो ।

घोषणापत्रमा ‘दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाइनेछ’ भनिएको थियो । तर यिनै वस्तुका लागि अर्बौं रुपैयाँ मुलुकबाट बाहिरिइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा प्रमुख बाली तथा माछामासु आयातमा ७१ अर्ब र २०७५/७६ मा ७० अर्ब रुपैयाँ बाहिरियो । घोषणापत्रमा दुई वर्षभित्र भैरहवा विमानस्थल निर्माण पूरा हुने उल्लेख थियो ।

तर भैरहवा विमानस्थलको काम अझै पूरा भएको छैन । केही समय तलमाथि हुनुलाई अन्यथा नठानिएला तर प्रतिबद्धताअनुसार काम गर्ने गतिमा देखिएको सुस्तता भने यसले झल्काउँछ ।

घोषणापत्रमा दुई वर्षभित्र काम पूरा गर्ने अर्को विषय थियो– काठमाडौंमा पेट्रोलियम बाहनलाई विद्युतीय बाहनले प्रतिस्थापन गर्ने । यो काममा कुनै प्रगति छैन । पेट्रोलियम सवारीकै आयात बढिरहेको छ ।

घोषणापत्रमा ‘द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापन र परिपूरणको बाँकी प्रक्रिया दुई वर्षभित्र सम्पन्न गरिनेछ’ भनिएको थियो । यसमा केही प्रगति भएन । उल्टै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग विवादले झन्डै एक वर्ष पदाधिकारीविहीन भए । (कान्तिपुर दैनिकबाट)


१ फागुन २०७६, बिहीवार ०२:२६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु