पत्रकारको छाता संगठन भित्रै सिण्डिकेट
✍️ उन्नति चौधरी
राज्यको चौथो अंग मानिने पत्रकारिता पेशा महिलाहरुकोलागि निकै चुनौतीपूर्ण छ । सुन्नमा जति आकर्षित छ, त्यो भन्दा कयौं गुणा पेशामा टिक्न कठिन छ । त्यसैले होला पत्रकारितालाई पेशा बनाउने हिम्मत सायदै कमैले गर्छन् ।
नेपालको संविधान २०४७ ले जनतालाई सुसूचित हुने अधिकार र प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेपछि आमसञ्चारका माध्यमको विकास भएको हो । पञ्चायतकालमा प्रेसमाथि हुने अंकुश २०४६ पछि अन्त्य भएको ईतिहास छ । नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र नेपाली मिडियाको विकास क्रमशः बढ्दै गएको देखिन्छ । २०६२÷०६३ को जनआन्दोलनपछि नेपाली मिडियामा पत्रकार महिलाहरुको संख्यामा पनि बृद्धि हुन पुग्यो । अहिले केही मात्रमा महिलाहरुको संख्यात्मक बृद्धिसंगै गुणात्मक बृद्धिमा विकास भयो र धेरै मिडियामा महिला संञ्चालक तथा सम्पादक भएको ईतिहास नेपाल प्रेस काउन्सिलमा सुरक्षित छ ।
समग्रमा हेर्ने हो भने नेपालमा पत्रकारिता गरिरहेको महिलाहरुको संख्या धेरै थोरै देखिन्छ । २०७२ सालमा सञ्चारिका समुहको अध्ययान अनुसन्धानबाट निकालिएको तथ्यांक अनुसार नेपाली सञ्चारमाध्यममा कार्यरत श्रमजिवि पत्रकारमध्ये पत्रकार महिलाको संख्या २५.३ प्रतिशत मात्र रहेको थियो । सञ्चारिका समूहले देशभरका ९ सय ७ सञ्चारगृहमा गरेको अध्ययनमा महिलाको संख्या १ हजार ९ सय ३९ र पूरुषको संख्या ५ हजार ७ सय ११ जना रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
अध्ययनपछि ५ सय ३१ छापा सञ्चारगृह, ३ सय ६ रेडियो, ३१ टेलिभिजन र ३९ अनलाइनमा २० देखि ३० वर्ष उमेर समूहका महिला सबैभन्दा बढी सक्रिय रहेको तथ्यांक निकाल्यो । सर्वेक्षणमा सहभागी कूल १ हजार १ सय ४३ पत्रकार महिलामध्ये २३ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकामा र ७६ दशमलव ४ प्रतिशत उपत्यका बाहिर कार्यरत छन्। अध्ययन अनुसार ६२.१ प्रतिशत रेडियोमा, २२.६ प्रतिशत छापामा, १०.७ प्रतिशत टेलिभिजनमा र ७ प्रतिशत अनलाइनमा पत्रकार महिला कार्यरत छन्।
अध्ययनले पत्रकारिताका माथिल्ला पदहरुमा पत्रकार महिलाको उपस्थिती चिन्ताजनक रहेको देखाएको छ। वरिष्ठ र कार्यकारी पदमा पुग्ने पत्रकार महिलाको संख्या एकदमै थोरै मात्रमा रहेको र व्यूरो सम्बाददाता तथा प्रमुखमा २.९ प्रतिशत, सम्पादकमा ८.१ प्रतिशत र प्रकाशक तथा व्यवस्थापकका रुपमा २.७ प्रतिशत महिला रहेको बताइएको छ । सबैभन्दा बढी ४१.५ प्रतिशत पत्रकार महिला समाचार वा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत छन्। यस्तै, २९.३ प्रतिशत पत्रकार महिला संवाददाता तथा उपसम्पादक र ४६.५ प्रतिशत पत्रकार महिला मिश्रित बिटमा काम गर्छन्। राजनीति र समसामयिक बिटमा ३ प्रतिशत, अर्थ र वाणिज्यमा २.५ प्रतिशत र अन्तर्रा्ष्ट्रिय तथा परराष्ट्र मामिलामा ०.८ प्रतिशत पत्रकार महिलाले काम गर्ने गरेको अध्यनले देखाएको छ।
यसरी हेर्दा पत्रकारिता पेशामा महिला आउनै न चाहेको भने पक्कै होईन । तर पत्रकार महिलालाई पेशाप्रति बफादार बन्न आर्थिक राजनीतिक, सामाजिक, भौतिक यी सबै हिसाबले असुरक्षित हुनका साथै कहिँ न कहिँ विभेदको सामना गर्नुपर्ने बाध्यता छ । हाम्रो सामाजको नजरिया एउटा पत्रकार महिला झवाँट् हेर्दा पेशागतरुपले हेरिदैन बरु उसलाई शुरुमा एउटा महिलाको दृष्टिले हेरिन्छ । जसले गर्दा उनीहरुलाई थप समस्याको सामना गर्नुपर्ने साथै सामाजिक असुरक्षा, लैंगिक विभेद, यौन दुव्र्यवहार, यौन आशयका मनोबैज्ञानिक हिंसाका कारण पत्रकार महिलाको संख्या पुरुष जतिको वृद्धि हुन सकिरहेका छैन ।
सुदूरपश्चिम प्रदेशमा विभिन्न सञ्चार माध्यममा काम गरिरहेका पत्रकार महिलाहरूको अनुभव उनीहरूकै शब्दमाः पत्रकारिता पेशामा प्रबेश गरेका महिलालाई फरक फरक ढंगले बल्याकमेल गरिहरेका हुन्छन्, त्यो पनि आफ्नै सहकर्मीहरु । कहिले बाईलान राखदिएर, कहिले सहयोग गरेको बहानामा आदी । बल्याकमेल गरेको प्रमाण हँुदैन, हुन्छ त केवल फिलिंस् । पदमा विभेद, ज्यालामा विभेद र काममा पनि विभेद भईरहेको छ । मिडिया हाउसभित्रै बोली बचनमा पनि सम्मान हुँदैन जसले गर्दा विकल्पमा पेशाबाटै पलायत हुन्छन् ।
पछिल्लो अवस्थामा यो समस्याको विश्लेषण गर्नेहरू विवाहलाई बाधक बनाई कुतर्क गर्न पछि हट्दैनन् । तर मलाई लाग्दैन कि पत्रकारिता पेशालाई दिर्घकालिनरूपले टिकाई राख्न महिला अविवाहित हुनुपर्छ । के यो पेशाबाट पलायन हुनु विवाह नै प्रमुख कारण हो त ? यदि त्यसो हो भने आमादेखि छोरा छोरी नै मिडिया चलाएको उदाहरणहरूपनि हामी सामु छन् । यसरी आँट र जोसका साथ मिडियाप्रतिको लगानीसंगै भविष्य खोज्ने महिलाहरु जोगाई राख्नुपर्छ भन्ने सोचको कमी मात्रै हो । यसमा सबै गम्भिर हुन जरुरी छ ।
ठाउँ ठाउँमा भाषण गर्नु पर्यो भने नेपाल पत्रकार महासंघ पनि कहिले कसो पत्रकार महिला विवाहपछि पलाय हुन्छन् भन्ने तर्क दिन्छ । विवाह पनि एउटा कारण हुन सक्छ, तर प्रमुख कारण पत्ता लगाउनतिर महासंघको पनि दायित्व हो । नेपाल पत्रकार महासंघ सम्रग पत्रकारहरूको छाता संगठन हो, तर महासंघले पनि पत्रकार महिलालाई टिकाई राख्नको लागि के कति पहल कदमी चालेको छ त ? कैलाली जिल्लाको हकमा हेर्ने हो भने स्थानीय सरकार तथा प्रदेश सरकारको धेरै सूचना तथा पत्रकारहरुलाई अवसर प्रर्दान गर्नकोलागि नेपाल पत्रकार महांसंघको शाखामा जानकारी आउँछ । तर महासंघले नै पत्रकार महिलाहरुलाई सूचनाबाट बञ्चित गर्ने रणनीति नयाँ तरिकाले रचेको देखिन्छ । जसले गर्दा सरकारी तथा गैर सरकारी कार्यालयबाट पत्रकार महिलाहरु सुचना पाउनबाट बञ्चित हुनपुगेका हुन् । उनीहरु सम्पर्क समन्वयमा पनि बाधा पुग्नु स्वभाविक नै हो ।
नेपाल पत्रकार महाँसंघ कैलाली शाखाले कैलाली जिल्लाबाट सञ्चालन हुने मिडिया हाउसका प्रकाशक तथा सम्पादकहरुको टेलिफोन नम्बर र मोबाईल नम्मबर सहितको नाम लिष्ट निकालेर स्थानीय तह, प्रदेश सरकार तथा मन्त्रालयमा बुझाएको छ । सो लिस्टमा ७२ जना पत्रकारको नाम, मियियाको नाम, पद, फोननम्बर र इमेल ठेगना उल्लेख भएको छ । उक्त लिस्टमा ७२ जना मध्ये १ जना मात्रै क्रियाशील पत्रकार महिलाको नाम ठेगान समेत्न सफल भयो । के कैलाली जिल्लामा मिडिया सञ्चालन गर्ने महिला छैनन ? महिला सम्पादक महिला रिपोर्टर कोही छैनन् ? महासंघ जस्तो संस्थाले हचुवाको भरमा लिस्ट सार्वजनिक गरि पत्रकार महिलालाई बाइपास गर्ने छुट छैन । महासंघ त सबै पत्रकारको हक हितकोलागि अवाज उठाउने छाता संगठन हो । तर महासंघ भित्रै सिण्डिकेटको जालो देखिएको छ ।
२०७५ सालको तथ्यांकमा नेपाल पत्रकार महांघ कैलालीबाट सदस्यता प्राप्त गरेका दूई सय एक जना मध्ये २७ जना त महिला नै छन् नि । सदस्यता दिन सक्नेले सार्वजनिक गर्ने लिस्टमा नाम राख्न किन हिचकिचावट ? सुदूरपश्चिमकै कुरा गर्ने हो भने । कञ्चनपुरमा २ सय ७० मध्ये ५९ महिला, बैतडीमा ८६ मध्ये १४, दार्चुलामा ५६ मध्ये ६, अछाममा १६० मध्ये १५, डोटीमा ६१ मध्ये ५, बझांगमा ४३ मध्ये ६ र बाजुरामा ६६ मध्ये ७ जना पत्रकार महिलाले सदस्यता प्राप्त गरेका छन् । यी सबै महिला क्रियाशील नहोलान तर महासंघले त क्रियाशीला महिला कति छन् भन्ने कुरा खोजी गर्न सक्थ्यो होला नि ?
महिलाको आवाज बिना रेडियो बज्दैन, टेलिभिजन चल्दैन । व्यवस्थापन बलियो हुदैन, तर, दीर्घकालिनरुपले महिलाहरूलाई यो पेशामा जोगाई राख्ने हेतुले कस्ले सोचिदिने ? हो पत्रकारिता क्षेत्रमा पुरुष सरह नै महिलाहरूलाई पनि अवसर छ । नभएको होईन । तर, पेशा उही भए पनि मिडिया हाउस भित्रको व्यवहार होस् या घर भित्रको, फरक जमिन र अकाश जस्तै छ । पत्रकार महिलाको आत्मबल बढाउने काम मिडिया हाउससंगै सम्बन्धित निकायको पनि हो । मिडिया हाउसले पुरुष र महिला पत्रकारमा विभेद नगरोस् भन्ने अपेक्षासंगै पत्रकार महिलाका लागि सुरक्षित तथा सहजरुपले काम गर्ने वातावरणको निर्माण गर्ने जिम्मेवारी पनि हो ।
त्यसैले मिडिया हाउस तथा सम्बन्धित निकायले यस्ता कुराको मूल्यांकन जब सम्म गरिदैन तब सम्म पत्रकार महिला मिडिया भित्रै विभेदमा पर्छन् । पत्रकार महिलाहरुको लेखाईमा छिटो निखार ल्याउने, उनीहरुको जिम्मेवारीमा परिपक्त्व ल्याउने देखि आत्मबल बृद्धि गर्न यी निकायको सानो सहयोगले पत्रकार महिलाको भविष्य उज्जल हुन सक्छ । हामी सबै क्षेत्रका महिलाहरुको सम्मान गर्न सिकौं र सिकाउँ । सबैलाई चेतना भया ।
लेखक क्रीयाशिल पत्रकार कैलालीका पुर्व अध्यक्ष हुन ।
१० माघ २०७६, शुक्रवार ०२:५४ बजे प्रकाशित